रौतहट । इशनाथ नगरपालिकामा विकास निर्माण कार्यले तीव्रता पाएको छ । स्थानीय जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतको सक्रियताका कारण अहिले विकास निर्माणले तीव्रता पाएको छ ।
यस नगरपालिकामा नव निर्वाचित जनप्रतिनिधिको डेढ वर्षकै कार्यकालमा विकास निर्माणले गति पाएको स्थानीय बासिन्दा बताउँछन् । यसअघि यस किसिमको विकास नभएको र अहिले पूर्वाधार विकासले गति लिएको उनीहरुको भनाइ छ ।
पूर्वाधार विकासअन्तर्गत विभिन्न स्थानमा सडक ढलान गरिएको छ । यसअघि वर्षायाममा हिलाम्मे हुने सडकहरु अहिले ढलान भएपछि स्थानीय बासिन्दाले राहत पाएका छन् । वर्षाले अत्यन्त प्रभावित हुने यस क्षेत्रमा बासिन्दाले हिलाम्मे सडकमा हिडनै नसक्ने अवस्थाबाट मुक्ति पाएका छन् । यद्यपि अझै केही स्थानका सडक ढलान गर्नुपर्ने जरुरी छ । पूर्वाधार विकासमात्रै होइन, सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर सुधार्नसमेत पहल भएको पाइएको छ ।
सामुदायिक विद्यालयहरुलाई आवश्यकताअनुसार बजेट उपलब्ध गराएर यस क्षेत्रलाई विशेष प्राथमिकता दिइएको छ । यस्तै स्वास्थ्य, कृषि र सिँचाइ क्षेत्रले पनि फडको मारेको स्थानीय बासिन्दाहरुको भनाइ छ । स्थानीय जनप्रतिनिधिसँगको सहकार्यमा प्रमुख प्रशासकीय अधिकृत भूदेव झाले इशनाथ नगरपालिकामा अत्यन्तै सराहनीय कार्य गरेकोमा स्थानीय बासिन्दाहरुले प्रशंसा गरिरहेका छन् । उनको सुझबुझका कारण विकास निर्माणले गति लिएको पनि स्थानीयवासीले जानकारी गराएका छन् ।