२९ पुस,डेकास्क  ठमाडौं ।— कोरोना संक्रमण तीव्र गतिमा फैलिइरहे पनि सरकारले परीक्षणको दायरा बढाउन सकेको छैन । पछिल्ला १० दिनमा संक्रमण दर करिब ९ गुणाले वृद्घि भए पनि परीक्षणको संख्या र दायरा भने पुरानै अवस्थामा छ ।

विज्ञहरूले कोरोनाको नयाँ भेरिएन्टका कारण भित्रभित्रै संक्रमण समुदायस्तरमा फैलिसकेकाले परीक्षण संख्या नबढाउने हो भने संक्रमणले विस्फोटक रूप लिने दाबी गरेका छन् । ‘१० दिनमा दैनिक देखिने संक्रमण दर र संक्रमितको संख्या करिब तीव्र गतिमा बढे पनि परीक्षण उस्ताउस्तै देखिनु सही होइन,’ भाइरोलोजिस्ट एवं प्रदेश २ जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. श्रवणकुमार मिश्र भन्छन्, ‘तुरुन्त व्यापक रूपमा परीक्षण नबढाउँदा भित्रभित्रै सल्किरहेको संक्रमण एकैचोटि विस्फोट हुने जोखिम छ, त्यतिखेर परिस्थिति काबुबाहिर जान सक्छ ।’

तत्कालै गर्न सकिने एन्टिजेन परीक्षण पनि निकै सुस्त छ । पुस १९ मा २ हजार ७९८ नमुनाको एन्टिजेन परीक्षण गरिएकामा पुस २८ मा ३ हजार ९८५ को मात्र परीक्षण गरिएको छ । यस अवधिमा संक्रमण दर १.२२ प्रतिशतबाट बढेर १५.७ प्रतिशत पुगेको छ ।

विज्ञहरूका अनुसार ओमिक्रोनका कारण संक्रमण तीव्र फैलिरहेको र त्यसले तेस्रो लहरको रूप लिइसकेको छ । संक्रमणलाई रोक्न प्रभावकारी रणनीति बनाउन ढिलाइ गर्न नहुने डा. मिश्र बताउँछन् । ‘समाजमा यो भाइरस घातक स्तरसम्म फैलिसकेपछि यसलाई रोक्ने प्रयास गर्नुले कुनै फाइदा हुने छैन,’ उनले भने ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुकी निर्देशक डा. रुना झासमेत ओमिक्रोनका कारण दिनहुँ संक्रमण तीव्र रूपमा बढी रहेको स्वीकार गर्छिन् । डा. झाले संक्रमण उच्चदरले बढे पनि परीक्षण दायरा नबढ्नु चिन्ताजनक भएको बताइन् । उनका अनुसार पछिल्ला दिनमा गरिएका परीक्षणमा ओमिक्रोनको संक्रमण बढी देखिएको छ । ‘दिनहुँ संक्रमणको दर बढे पनि परीक्षण गर्ने कम छन्, यो चिन्ताजनक कुरा हो,’ डा. झा भनिन्, ‘हामी ओमिक्रोनको वास्तविक अवस्था हेर्न हरेक प्रदेशबाट नमुना मगाएर सिक्वेन्सिङ गर्दै छौं ।’

परीक्षणको दायरा साँघुरो हुँदा संक्रमणको यथार्थ तस्बिर बाहिर आउन नसकेको विज्ञहरूको भनाइ छ । उनीहरूका अनुसार प्रदेश २ को अवस्था बढी चिन्ताजनक छ । डा. मिश्रका अनुसार तीन दिनयता प्रदेश २ मा संक्रमण दर ३८ प्रतिशतसम्म देखिएको छ । तर, परीक्षण भने अत्यन्त कम छ । बुधबार प्रदेश २ मा ७८ नमुनाको मात्र परीक्षण गरिएको छ । ‘संक्रमण दर यति उच्च हुँदाहुँदै पनि परीक्षणमा बेवास्ता गरिएको छ, यसतर्फ सम्बन्धित निकाय गम्भीर बन्न ढिलाइ गर्नु हुँदैन,’ डा. मिश्रले भने ।

शुल्कका कारण पनि सर्वसाधारणले परीक्षणका लागि चासो नदेखाएको विज्ञको तर्क छ । हाल सरकारी अस्पतालमा पीसीआर परीक्षणका लागि एक हजार रुपैयाँ शुल्क तोकिएको छ भने निजी अस्पताल एवं स्वास्थ्य संस्थाले दुई हजार रुपैयाँसम्म लिने गरेका छन् । स्वास्थ्य सेवा विभाग इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का पूर्वनिर्देशक डा. बाबुराम मरासिनी कोभिड परीक्षणलाई निःशुल्क बनाउनुको विकल्प नभएको बताउँछन् ।

‘सरकारी अस्पतालमा समेत दुई पटक गरी जम्मा दुई हजार रुपैयाँ तिर्नु आम व्यक्तिका लागि ठूलो रकम हो,’ उनले भने, ‘विदेशमा सित्तैमा परीक्षण हुन्छ । परीक्षण किटको मूल्य पनि धेरै घटेको छ । कम्तीमा परल मूल्य लिइए पनि परीक्षण गराउनेको संख्यामा वृद्धि हुन्थ्यो ।’ खोप सुनिश्चित गर्दै परीक्षण र निगरानी नबढाउने हो भने संक्रमणले विस्फोटक रूप लिने रत्यतिबेला सम्हाल्न नसकिने उनले चेतावनी दिए ।

दैनिक परीक्षणलाई ३० हजार पुर्‍याउनुपर्ने बताउँछन् ईडीसीडीका अर्का पूर्वनिर्देशक डा. जीडी ठाकुर । ‘परीक्षण कम भए संक्रमण कुनै पनि बेला एक्कासि विस्फोट हुन्छ,’ उनले भने, ‘सीमा नाकामा पनि सरकारले परीक्षण बढाउन जरुरी छ ।’

परीक्षणको दायरा नबढाएको सरकारले खोप कभरेजमा पनि बेवास्ता गरेको छ । सरकारले पुस मसान्तसम्म १८ वर्षका दुई तिहाइ जनसंख्यालाई खोपको पूरा मात्रा दिने लक्ष्य लिएको छ । वाग्मती र गण्डकी प्रदेशले मात्र यो लक्ष्य हासिल गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, परिवार कल्याण महाशाखाको तथ्यांकअनुसार १८ वर्षमाथिका लक्षित जनसंख्यामा सबैभन्दा बढी गण्डकीमा खोप लगाइएको छ । ८३ प्रतिशतले एक डोज लगाएका छन् भने ७९ प्रतिशतले पूर्ण खोप लगाएका छन् । वाग्मतीमा ७८ प्रतिशतले पहिलो र ७५ प्रतिशतले पूर्ण खोप लगाइसकेका छन् । प्रदेश १ मा ७२ प्रतिशतले पहिलो र ५० प्रतिशतले पूर्ण खोप पाएका छन् भने प्रदेश २ मा पहिलो डोज ५२ प्रतिशत र ४२ प्रतिशतले पूर्ण डोज लगाएका छन् । लुम्बिनीमा पहिलो डोज लगाउनेको संख्या ७२ प्रतिशत र पूर्ण खोप लगाउनेको संख्या ५२ प्रतिशत छ ।

कर्णालीमा ५५ प्रतिशतले पहिलो र ४७ प्रतिशतले दोस्रो डोज लगाएका छन् । सुदूरपश्चिममा ६३ प्रतिशतले पहिलो र ५६ प्रतिशतले पूर्ण खोप लगाइसकेका छन् । १२ देखि १७ वर्ष उमेर समूहका ४९ प्रतिशतले पहिलो मात्राको खोप लगाइसकेका छन् ।

स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले १८ वर्षमाथिका लक्षित समूहमा पहिलो साताको तुलनामा पहिलो मात्रा लगाउनेको संख्यामा २ प्रतिशतले र पूर्ण मात्राको खोप लगाउने ४ प्रतिशतले बढेको बताइन् । कम खोप लगाइएका प्रदेशमा खोप लगाउने कार्यलाई द्रुत बनाउन केन्द्र थप्ने उनको भनाइ छ । उनका अनुसार माघ पहिलो सातादेखि स्वास्थ्यकर्मीसहित अग्रपंक्तिमा खटिएकालाई बुस्टर डोज दिने तयारी छ ।

बुधबारसम्म कुल जनसंख्याको ३७.८ प्रतिशतले पूर्ण खोप लगाइसकेका छन् भने ५०.५ प्रतिशतले एक मात्रा लगाएको मन्त्रालयले जनाएको छ । त्यसैगरी लक्षित जनसंख्याको ७६.९ प्रतिशतले एक मात्रा र ५७.६ प्रतिशतले पूर्ण खोप लगाएका छन् । एकै दिनमा हालसम्मकै सबैभन्दा बढी खोप पुस १२ मा ५ लाख ६८ हजार ३१९ ले लगाएका थिए ।

संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन खोपको कभरेज ढिलो बढ्नुमा केही कारण देख्छन् । उनका अनुसार जो शारीरिक रूपमा अशक्त छन् (विशेषतः ज्येष्ठ नागरिक) दैनिक ज्यालादारीमा काम गर्ने व्यक्ति र खोपका बारेमा अझै आशंका लागेकाहरू खोप लगाउन आएका छैनन् । ‘भीडको समस्या त पहिला पनि देखिएकै हो । त्यसबेला खोप लगाउन अनुरोध थियो, अहिले बाध्यात्मक,’ उनले भने ।

पुस मसान्तसम्म दैनिक ५ लाख डोज खोप लगाउने लक्ष्य भने १२ गतेयता पूरा भएको छैन । तर खोप लगाउनेको भीड बढ्नुलाई सकारात्मक मान्छन्, स्वास्थ्य सेवा विभाग खोप शाखाका प्रमुख सागर दाहाल । ‘पायक पर्ने ठाउँमा हामीले खोप केन्द्र राखेका छौं । पायक जहाँ पर्छ, त्यहीँ जाँदा भीड बढेको हो,’ उनले भने, ‘कुनै केन्द्रमा एकदम भीड छ, कुनैमा छैन । खुला ठाउँमा लाइन बस्दा त्यति आपत्ति जनाउनुपर्छ जस्तो लाग्दैन ।’ उनले आजको भोलि नै खोप कभरेज बढ्न नसक्ने बताए ।

‘आज खोप लगाएको मान्छे दोस्रो डोज लगाउन अर्को महिना आउनुपर्छ । जति मान्छेलाई पुर्‍याउनुपर्ने हो, त्यति पुर्‍याउन सकिएन तर प्रयास त गरिएकै छ,’ उनले भने । स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाका अनुसार मंगलबार ११ लाख ८४ हजार मात्रा भेरोसेलको थप खोप आएको छ । शाखा प्रमुख डा. सुरेन्द्र चौरासियाका अनुसार ४० लाख मोर्डना भने जनवरीको दोस्रो साताभित्र आउँदै छ । २०७७ माघ १४ गते खोप अभियान सुरु भएदेखि हालसम्म अनुदान र खरिदमा खोप नेपालमा ४ करोड ३ लाख ८७ हजार ९ सय २७ मात्रा आइसकेको छ ।

काठमाडौंमा थपिए ६ खोप केन्द्र

स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार बुधबारदेखि थप ६ वटा निजी अस्पतालबाट पनि १८ वर्षमाथिका सर्वसाधारणलाई कोभिडविरुद्धको खोप उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । हालसम्म काठमाडौंमा ११ खोप केन्द्र थिए ।

स्वास्थ्य कार्यालय प्रमुख शम्भु काफ्लेका अनुसार काठमाडौं मोडल अस्पताल प्रदर्शनीमार्ग, पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटल सामाखुसी, जनमैत्री अस्पताल बालाजु, नर्भिक अस्पताल थापाथली, शुभेच्छा अस्पताल सीतापाइला र नोबेल अस्पताल सिनामंगलबाट कोभिडविरुद्धको खोप निःशुल्क लगाउन पाउनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

  मंग्सिर २८, २०७९ बुधबार 108 Views

Windows 11: Release date, price, and new features

  मंग्सिर २७, २०७९ मंगलबार 85 Views

How to remove or uninstall graphics drivers in Windows 11

  मंग्सिर २७, २०७९ मंगलबार 90 Views

Screen Recorder & Video Editor ScreenPal

  मंग्सिर २७, २०७९ मंगलबार 103 Views

Download all Android Phones Drivers for USB Connection to the Computer

  मंग्सिर २७, २०७९ मंगलबार 78 Views

How to Install and Update a Computer Driver


TOP